नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई थप निष्पक्ष, पारदर्शी, सेवामुखी तथा अनुशासित बनाउन नयाँ आचारसंहिता सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार आचारसंहितामा कार्यालय समयमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। साथै, कर्मचारीहरूले कार्यस्थल बाहिर सेवाग्राही वा व्यवसायीहरूसँग व्यक्तिगत लाभ वा स्वार्थका लागि भेटघाट गर्न नहुने उल्लेख गरिएको छ।
आचारसंहिताअनुसार सरकारी खरिद प्रक्रियामा आफ्ना नजिकका नातेदार वा स्वार्थ जोडिएका व्यक्ति तथा फर्मलाई संलग्न गराउन निषेध गरिएको छ। सरकारी भ्रमणका क्रममा सेवा प्रदायक संस्थाको सौजन्यमा होटल, सवारीसाधन वा अन्य सुविधा प्रयोग गर्न पनि रोक लगाइएको छ।
यस्तै, कार्यालय परिसर वा सार्वजनिक स्थलमा मदिरा सेवन तथा जुवातास खेल्न पूर्ण रूपमा निषेध गरिएको छ। कर्मचारीहरूले सामाजिक तथा सार्वजनिक कार्यक्रममा पनि मितव्ययी, सभ्य र मर्यादित व्यवहार प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
राजनीतिक तटस्थतालाई प्राथमिकता दिँदै कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा त्यसका भातृ संगठनको सदस्य बन्न, सार्वजनिक रूपमा राजनीतिक विचार व्यक्त गर्न तथा राजनीतिक गतिविधिमा सरकारी सम्पत्ति प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
अस्पतालमा कार्यरत कर्मचारीहरूका लागि छुट्टै आचारसंहिता पनि लागू गरिएको छ। जसअनुसार बिरामी र सेवाग्राहीप्रति शिष्ट, सम्मानजनक र सेवामुखी व्यवहार गर्नुपर्ने, आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। साथै, बिरामीको स्वास्थ्यसम्बन्धी गोप्य विवरण सुरक्षित राख्नुपर्ने प्रावधान समेटिएको छ।
आचारसंहितामा डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता (एआई) तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी व्यवस्था पनि समावेश गरिएको छ। कर्मचारीहरूले पदीय जिम्मेवारीका क्रममा प्राप्त गोप्य सूचना सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न नपाउने उल्लेख गरिएको छ।
मन्त्रालयले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री, सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखमार्फत तहगत रूपमा अनुगमन गरिने जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले असार १० गते स्वीकृत गरेको उक्त आचारसंहिता बिहीबार मन्त्रालयले सार्वजनिक गरेको हो।
नेपाल मेडिकल काउन्सिलको लोगो दुरुपयोग नगर्न आग्रह
बिहीबार, असार १८, २०८३
सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित
बिहीबार, असार १८, २०८३
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त
बिहीबार, असार १८, २०८३
पूर्वसचिव भीम उपाध्यायविरुद्ध चिकित्सक संघले गर्यो साइबर ब्यूरोमा उजुरी
बिहीबार, असार १८, २०८३
