नेभिगेशन

गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै बालबालिकालाई शितलता प्रदान गर्न अभिभावकले पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ लैजाने क्रम बढेको छ । पछिल्लो समय गर्मी सँगै हप्तामा दुई दिन विदा हुदा , विदाको सदुपयोग गर्नका लागि अधिकाशं बालबालिकाहरु पौडी खेल्नका लागि ‘स्वीमिङ पुल’ जाने गरेका छन् । विद्यालय बिदाको समयमा मनोरञ्जनका लागि पौडी खेल्न लैजाँदा बालबालिकाको स्वास्थ्यमा भने विभिन्न समस्याहरू देखिन थालेका छन् ।

ग्राण्डी अस्पतालका बालरोग विशेषज्ञ डा सञ्जयराज थापा पछिल्लो समय अस्पतालका ओपिडीमा पौडी खेलेपछि बिरामी भएका बालबालिकाको संख्या उल्लेख्य मात्रामा बढेको बताउनुहुन्छ ।

पौडी खेल्ने क्रममा बालबालिकाले अन्जानमै पोखरीको पानी निल्ने गर्छन् । पोखरीलाई सफा राख्न प्रयोग गरिने ‘क्लोरिन’ युक्त पानीले बालबालिकाको घाँटीमा  एलर्जी गराउन सक्ने र पानी फोहोर भएमा घाँटी तथा फोक्सोमा संक्रमण हुने गरेको पाइएको छ । यसका साथै कानमा संक्रमण भई कान पाक्ने वा दुख्ने समस्या पनि उत्तिकै देखिएको छ ।

यस्तै, गर्मीका कारण पौडी पोखरीमा अत्यधिक भीड हुने गरेको छ । धेरै मानिसको उपस्थितिले गर्दा पानी फोहोर हुने र संक्रमणको जोखिम झन् बढ्ने डा थापाको भनाई छ ।

संक्रमण पछि बच्चाहरूलाई घाँटी दुख्ने, टन्सिलाइटिस, कानको संक्रमण र कहिले काहीँ छातीमा संक्रमण भई  निमोनिया पनि हुने गरेको छ।  केही बच्चाहरूलाई उच्च ज्वरो आई , छारेरोग जस्तै  काम्ने  र कहिलेकाहीं उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने समेत हुन्छ।

डा थापाले धेरै भीडभाड भएको पौडी पोखरीमा बालबालिकालाई नलैजान, बालबालिकालाई एक्लै पौडी खेल्न नछोड्ने र कसैको निगरानीमा मात्र पौडी खेलाउने, पौडी खेलिसकेपछि बालबालिकालाई सफा पानीले नुहाइदिने र कानहरू राम्रोसँग पुछिदिन र घाँटी वा कानमा समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिन सुझाव दिनुहुन्छ ।

गर्मीबाट बच्न पौडी खेल्नु राम्रो भएतापनि स्वास्थ्यको ख्याल नगर्दा बालबालिकाहरू लामो समयसम्म बिरामी पर्नसक्ने भएकाले सावधानी अपनाउन उहाँले सबै बालबालिका र अभिभावकलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट