नेभिगेशन
बिरामीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशव्यापी अनुगमन अभियानको संकेत

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

न्यूनतम मापदण्ड पूरा नगर्ने स्वास्थ्य संस्थामाथि पनि नियमानुसार कारबाही गर्न सबै तहका सरकारलाई आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले देशभर सञ्चालनमा रहेका अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको तत्काल पहिचान गरी बन्द गर्न तथा कानुनअनुसार कारबाही अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेद्वारा २०८३ असार २३ गते जारी पत्रमार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य शाखा–महाशाखा र सबै स्थानीय तहलाई स्वास्थ्य संस्थाको प्रभावकारी अनुगमन, नियमन तथा कारबाही गर्न अनुरोध गरिएको हो ।

काउन्सिलका अनुसार प्राप्त उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनका क्रममा देशभरका धेरै स्वास्थ्य संस्था कानुनबमोजिम सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेको पाइएको छ। त्यसैगरी सञ्चालन अनुमति प्राप्त गरेका केही संस्थाले समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा योग्य र दर्तावाल स्वास्थ्यकर्मीको व्यवस्था नगरेको भेटिएको छ ।

यस अवस्थालाई गम्भीर रूपमा लिँदै काउन्सिलले सम्बन्धित निकायलाई आफ्नो अधिकारक्षेत्रभित्र सक्रिय अनुगमन गरी आवश्यक कारबाही अघि बढाउन आग्रह गरेको छ ।

काउन्सिलले विशेष रूपमा दुई बुँदामा जोड दिएको छ । पहिलो, दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्ने वा कानुनअनुसार कारबाही गर्ने । दोस्रो, सञ्चालन अनुमति प्राप्त भए पनि न्यूनतम मापदण्ड पूरा नगरेका संस्थालाई सुधारका लागि निर्देशन दिने र सुधार नगरे नियमानुसार कारबाही गर्ने ।

काउन्सिलले नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु सबै सरोकारवाला निकायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आवश्यक समन्वय र प्राविधिक सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

पत्रमा यस विषयलाई उच्च प्राथमिकतामा राखी सम्बन्धित निकायले तत्काल आवश्यक अनुगमन तथा कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ ।nmc-1783411758.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष