नेपाल हेल्थ न्युज, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट बिरामीलाई निजी मेडिकलतर्फ लैजाने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ।
सुनसरी प्रहरीका अनुसार उपचारका लागि प्रतिष्ठान आएका बिरामी तथा उनीहरूका आफन्तलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने प्रलोभन देखाउँदै निजी मेडिकलतर्फ लैजाने गतिविधि भइरहेको सूचनाका आधारमा मंगलबार प्रतिष्ठानको इमर्जेन्सी भवन परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बिरामीलाई फकाएर निजी मेडिकलमा लैजाने, औषधि खरिदमा प्रभाव पार्ने तथा उपचार प्रक्रियामा अवाञ्छित हस्तक्षेप गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा सुनसरीको कृष्णसवरन गाउँपालिका–३ का ३० वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ की २७ वर्षीया रिविना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय सानिन किराँती, धरान–६ का २३ वर्षीय मनीष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–७ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय थिरज निरौला, इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का ४८ वर्षीय विनोद मेहता रहेका छन्।
देशकै प्रमुख शिक्षण अस्पतालमध्ये एक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई झुक्याएर निजी मेडिकलमा लैजाने, औषधि खरिदमा प्रभाव पार्ने र उपचार सेवामा अवाञ्छित हस्तक्षेप गर्ने बिचौलियाको गतिविधि लामो समयदेखि गुनासोको विषय बन्दै आएको छ।
प्रहरीले प्रतिष्ठान परिसरमा यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा बनाइएको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बुधबार, असार २४, २०८३
अनुमतिबिना सञ्चालित स्वास्थ्य संस्था बन्द गर्न आग्रह
बुधबार, असार २४, २०८३
घुस रकमसहित निमित्त प्रमुख डा. राम पवित्र दास अख्तियारको नियन्त्रणमा
बुधबार, असार २४, २०८३
सात जिल्लामा बर्डफ्लु नियन्त्रण
मंगलबार, असार २३, २०८३
