नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को फार्मेसी शाखामा कार्यरत ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी औषधि आपूर्ति नै नभई बिलबिजक सफ्टवेयरमा प्रविष्टि गर्ने, म्याद गुज्रिएका औषधि फिर्ता नगरी सोधभर्ना नलिने तथा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोपमा बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अख्तियारका अनुसार अनुसन्धानबाट फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लवेन्द्र कुँवर र दिपक सापकोटा, स्टोर किपरहरू विनोद पोखरेल, केशवराज न्यौपाने, शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दिप तिवारीले पदको दुरुपयोग गर्दै फार्मेसी सञ्चालनमा गम्भीर अनियमितता गरेको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने औषधिको खरिद, बिक्री र मौज्दातको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) समेत तयार नगरिएको खुलेको छ। यस विषयलाई महालेखा परीक्षकको आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदनले समेत औँल्याएको अख्तियारले जनाएको छ।
यस्तै, अस्पतालको स्टोरमा करोडौँ रुपैयाँ बराबरका म्याद गुज्रिएका औषधि थन्किएको, सम्झौताअनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन वा सोधभर्ना लिनुपर्ने औषधि फिर्ता नगरिएको तथा धरौटी रकमबाट कट्टा गर्नुपर्ने अवस्थामा समेत जिम्मेवार कर्मचारीहरूले ‘म्याद गुज्रिएका औषधि छैनन्’ भन्ने गलत लिखित जानकारी दिएर आपूर्तिकर्ता कम्पनीहरूको धरौटी फिर्ता गराएको अनुसन्धानबाट खुलेको छ।
निजामती कर्मचारी अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको विस्तृत प्रतिवेदनअनुसार उक्त अनियमितताका कारण अस्पताललाई २ करोड ९१ लाख ३४ हजार ५ सय ४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको निष्कर्ष निकालिएको छ।
सोही आधारमा अख्तियारले सम्बन्धित प्रतिवादीहरूबाट उक्त बिगो असुलउपर गरी प्रचलित कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
थप जानकारीका लागि हेर्नुहोस्...
सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्रीको निर्देशन
सोमबार, असार २९, २०८३
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
सोमबार, असार २९, २०८३
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
सोमबार, असार २९, २०८३

