नेभिगेशन

शारदानगर स्वास्थ्य चौकी भरतपुर अस्पतालको पहिलो स्याटलाइट अस्पताल बन्दै

नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले पश्चिम चितवनका नागरिकलाई स्थानीयस्तरमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित शारदानगर स्वास्थ्य चौकीलाई आफ्नो पहिलो स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेका अनुसार भरतपुर महानगरपालिकासँग समन्वय गरी महानगर–१९ स्थित शारदानगर स्वास्थ्य चौकीलाई अस्पतालको मातहतमा ल्याएर सेवा विस्तार गर्न लागिएको हो।

अस्पतालमा बिरामीको चाप निरन्तर बढ्दै गएकाले सामान्य उपचारका लागि पनि सदरमुकाम भरतपुर धाउनुपर्ने बाध्यता कम गर्न स्याटलाइट अस्पतालको अवधारणा अघि सारिएको डा. बगालेले बताए। उनका अनुसार स्याटलाइट अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्नेछ।

स्याटलाइट अस्पतालबाट प्रारम्भिक चरणमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिनेछ। यसका लागि पाँच जना चिकित्सक, प्रयोगशाला, एक्सरे तथा फार्मेसी सेवासहित आवश्यक जनशक्ति परिचालन गरिने योजना छ। आवश्यकता अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गरिने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार स्याटलाइट अस्पतालबाट स्वास्थ्य बीमाअन्तर्गतका सेवासमेत उपलब्ध हुनेछन्। साथै यसलाई भरतपुर अस्पतालको सेवा प्रणालीसँग पूर्ण रूपमा एकीकृत गरिनेछ। सुरुमा जनरल फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसूति तथा बालरोगसम्बन्धी ओपीडी सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

भरतपुर महानगरपालिकासँग औपचारिक सम्झौता सम्पन्न भएपछि सेवा सञ्चालन गरिने र दैनिक २०० भन्दा बढी बिरामीले सेवा लिन सक्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

महानगर–१९ मा रहेको शारदानगर स्वास्थ्य चौकी स्याटलाइट अस्पतालमा रूपान्तरण भएपछि महानगरका वडा नम्बर १४ देखि २८ सम्मका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकीको नाममा रहेको पाँच बिघा जमिन भविष्यमा स्वास्थ्य पूर्वाधार विस्तारका लागि उपयोग गर्न सकिने डा। बगालेले बताए।

भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष प्रकाश तामाङले विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा स्थानीयस्तरमै उपलब्ध हुने भएकाले पश्चिम चितवनका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। सामान्य उपचारका लागि पनि भरतपुर बजारसम्म जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।

यस्तै, भरतपुर महानगरपालिकाका कायममुकायम नगरप्रमुख चित्रसेन अधिकारीले साउनको दोस्रो सातादेखि आवश्यक संरचना भरतपुर अस्पताललाई हस्तान्तरण गरी सेवा सञ्चालनमा ल्याइने जानकारी दिए। महानगरको आफ्नै नगर अस्पताल सञ्चालनमा चुनौती भइरहेका बेला भरतपुर अस्पतालले पश्चिम चितवनमा सेवा विस्तार गर्न अग्रसरता देखाउनु सकारात्मक कदम भएको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट