नेभिगेशन

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत रहेका विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ उपकुलपति पाएका छन्।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा रिक्त रहेका उपकुलपति पदमा छ जना चिकित्सकलाई नियुक्त गर्नुभएको हो।

नियुक्तिअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा क्यान्सर रोग विशेषज्ञ डा। विवेक आचार्य नियुक्त हुनुभएको छ। उहाँ हाल वीर अस्पतालमा कार्यरत हुनुहुन्छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान को उपकुलपतिमा अर्थोपेडिक्स सर्जन डा। नवीसमान सिंह प्रधान नियुक्त हुनुभएको छ। उहाँ पाटन अस्पतालमा कार्यरत हुनुहुन्छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान को उपकुलपतिमा प्याथोलोजिस्ट डा। स्मृति कार्की नियुक्त हुनुभएको छ। उहाँ प्रतिष्ठानमै कार्यरत हुनुहुन्छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान को उपकुलपतिमा डा। नारायणसिंह गुरुङ नियुक्त हुनुभएको छ। उहाँ प्रतिष्ठानको जनरल प्राक्टिस तथा आकस्मिक (इमर्जेन्सी) विभागमा कार्यरत रहनुभएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान को उपकुलपतिमा जनरल सर्जन डा. सूर्यमान म्याहाङम्बो नियुक्त हुनुभएको छ। उहाँ लामो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेपछि करिब डेढ वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा हुनुभएको थियो।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को उपकुलपतिमा मुटुरोग विशेषज्ञ डा। अजयकुमार मिश्र नियुक्त हुनुभएको छ।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्ति

उपकुलपति नियुक्तिका लागि सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार छनोट तथा सिफारिस समिति गठन गरेको थियो।

समितिले जेठ ४ गते सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदनहरूको मूल्याङ्कनपछि प्रत्येक प्रतिष्ठानका लागि सात–सात जनाका दरले ४२ जना उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणपछि समितिले अन्तिम सिफारिस तयार पारेको थियो।

सिफारिस समितिको प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शाहले छ जना चिकित्सकलाई उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको हो।

नवनियुक्त उपकुलपतिहरूले सम्बन्धित प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक, अनुसन्धान तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष