नेभिगेशन

बिपी प्रतिष्ठान अगाडिका ८ औषधि पसलमा सिलबन्दी

नेपाल हेल्थ न्युज, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरी र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त अनुगमन टोलीले बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेशद्वार बाहिर सञ्चालनमा रहेका ८ वटा औषधि पसल सिलबन्दी गरेको छ।

बुधबार बीपी प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि उनीहरूलाई विनासर्त रिहा गर्न माग गर्दै औषधि व्यवसायीहरूले आन्दोलन गरेका थिए। व्यवसायीहरूले इलाका प्रहरी कार्यालयमा धर्ना दिएपछि संयुक्त अनुगमन टोलीले औषधि पसलहरूको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा प्रचलित कानुन, मापदण्ड तथा औषधि व्यवस्थासम्बन्धी नियमअनुसार सञ्चालन नभएको पाइएपछि सायांश मेडिकल हल, चाँदनी फार्मेसी, सबिन मेडिकल हल, वर्षा मेडिकल, स्काट मेडिकल हल, रितिशा फार्मेसी, सुजिता फार्मेसी र मिरियन मेडिकल हललाई सिलबन्दी गरिएको हो।

सिलबन्दी गरिएका पसलका सञ्चालकहरूलाई आवश्यक कागजातसहित औषधि व्यवस्था विभाग विराटनगरमा सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार अनुगमनका क्रममा केही पसलमा सञ्चालक अनुपस्थित रहेको, औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, कानुनविपरीतका प्रतिबन्धित औषधि फेला परेको तथा आवश्यक इजाजतपत्र र कागजात व्यवस्थित नरहेको पाइएकाले सिलबन्दी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिचौलिया, अनियमितता र अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर जारी रहने बताए। उनका अनुसार प्रतिष्ठानसँग सम्बन्धित समस्याको प्रशासनिक तथा कानुनी प्रक्रियाअनुसार समाधान खोज्ने कार्य अघि बढाइएको छ।

उनले बिरामीलाई निजी मेडिकलमार्फत आर्थिक शोषण गर्ने बिचौलियामाथिको कारबाही थप प्रभावकारी बनाइने र प्रतिष्ठानको अतिक्रमित जग्गाको पहिचान, सीमाङ्कन तथा संरक्षणको कामलाई समेत तीव्रता दिइएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट