नेभिगेशन

सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

नेपाल हेल्थ न्युज, चितवन । बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गर्नुभएको छ ।

डा.बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै हामी यो काम अघि बढाउँछौँ ।”

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहेको भन्दै उहाँले अन्य पालिकाहरुसँग पनि आवश्यक छलफल अघि बढाइएको बताउनुभयो । डा. बगालेले पालिका-पालिकामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पुगेपछि अस्पतालमा घुइँचो कम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ ।” ती अस्पतालहरूमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उहाँले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताउनुभयो ।

डा बगालेले भन्नुभयो, “सामान्य समस्या लिएर भरतपुर अस्पताल आउनु पर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गर्दैछौँ ।” सबै पालिका सकारात्मक भएमा दुई वर्षभित्रमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार भरतपुर अस्पतालमा दैनिक ओपिडी सेवाका लागि तीन हजारसम्म बिरामी आउने गर्दछन् । सामान्य समस्या लिएरसमेत बिरामी यहाँ आउनु पर्दा व्यवस्थापनमा जटिलता थपिएको छ भने बिरामीले पनि सास्ती पाइरहेका छन् । भरतपुर अस्पतालले विस्तारित सेवा प्रभावकारी भएसँगै देशभर यो अभियानलाई विस्तार गर्न सकिने डा बगालेले बताउनुभयो । अहिले ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बीमाका रहेका जनाउँदै उहाँले यसले बीमाका बिरामीलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट