नेभिगेशन

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार तथा जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ।

यस सम्बन्धमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचाररत बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानी सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइने मन्त्रालयले जनाएको छ।

मानसिक स्वास्थ्य सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरहरूको व्यापक प्रचारप्रसार गरिनेछ। मोबाइल रिङब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल तथा अनलाइन काउन्सेलिङमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गरिनेछ। आयुर्वेदअन्तर्गत योग, ध्यान तथा मनोसामाजिक सेवासमेत अभियानसँग जोडिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको मौज्दात सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवालाई नियमित स्वास्थ्य सेवासँग एकीकृत गर्ने तथा आवश्यकताअनुसार अस्पतालहरूमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारीसमेत अघि बढाउने भएको छ।

यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी परिचालन गर्ने, उपचारबाट बाहिरिएका (डिफल्टर) बिरामीलाई पुनः उपचारको दायरामा ल्याउने, लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको पहिचान गरी उपचार सुनिश्चित गर्ने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको छ। मन्त्रालयले मानसिक स्वास्थ्यलाई अस्पतालकेन्द्रित सेवाभन्दा समुदायमा आधारित परामर्श, उपचार र पुनर्स्थापनासँग जोडेर अघि बढाउने रणनीति अवलम्बन गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट