नेपाल हेल्थ न्युज, सुर्खेत। कर्णाली प्रदेश अस्पतालले प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। अस्पतालले हालै सुर्खेत र कञ्चनपुरका एक–एक जना गरी दुई बिरामीको पूर्ण रूपमा निःशुल्क मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
अस्पतालका जनरल सर्जन डा. विकास खड्काका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट एक वर्षे सर्जरी फेलोसिप पूरा गरेपछि यस वर्ष पहिलोपटक प्रदेश अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएको हो। सामान्यतया मिर्गौला प्रत्यारोपणमा सातदेखि आठ लाख रुपैयाँसम्म खर्च हुने भए पनि संघीय सरकारले उपलब्ध गराउने चार लाख रुपैयाँ र प्रदेश सरकारले प्रति बिरामी तीन लाख रुपैयाँ सहयोग गरेपछि सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको उनले बताए। केही अपुग रकम अस्पतालले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको थियो।
कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक २०७९ माघ २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता हालसम्म नौ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको अस्पतालले जनाएको छ।
अस्पताल निर्देशक डा. गणेश थापाका अनुसार सुरुवाती चरणमा प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट करिब ३० जनाको चिकित्सक टोली आउने गरेको थियो। अहिले भने प्रदेश अस्पतालका चिकित्सक, नर्स तथा प्राविधिकहरूले आवश्यक तालिम र फेलोसिप पूरा गरेपछि काठमाडौंबाट आउने जनशक्तिमा उल्लेख्य कमी आएको छ।
उनका अनुसार पछिल्लो प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट सात जनाको विशेषज्ञ टोली सहभागी भएको थियो भने बाँकी जनशक्ति प्रदेश अस्पतालकै थियो। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक करिब ४० जनामध्ये अधिकांश जनशक्ति आफ्नै अस्पतालबाट परिचालन गरिएको उनले बताए।
अस्पतालले आगामी दिनमा पनि चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि थप तालिम र फेलोसिपलाई निरन्तरता दिने जनाएको छ। अस्पताललाई कर्णाली प्रदेशमै मिर्गौला प्रत्यारोपणको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको निर्देशक डा। थापाले बताए।
असार २३ गते प्रत्यारोपण गरिएका सुर्खेतको वीरेन्द्रनगर–१ निवासी ४९ वर्षीय शिवराज गुइदेल र कञ्चनपुरको बेलौरी–५ निवासी ३० वर्षीय अजय चौधरी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। गुइदेललाई उनकी छोरीले मिर्गौला दान गरेकी थिइन् भने चौधरीलाई उनकी आमाले मिर्गौला दान गरेकी थिइन्।
गुइदेलको मधुमेहका कारण मिर्गौला फेल भएको थियो भने चौधरीको उच्च रक्तचापका कारण मिर्गौला निष्क्रिय भएको थियो। अस्पतालले दाताको मिर्गौला दूरबिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट निकालेर सफल प्रत्यारोपण गरेको जनाएको छ।
अस्पतालका अनुसार हाल सातामा करिब ६० जना बिरामीले नियमित डायलाइसिस सेवा लिइरहेका छन्। विशेषज्ञ चिकित्सक डा. खड्काले डायलाइसिसको तुलनामा मिर्गौला प्रत्यारोपण दीर्घकालीन रूपमा बढी प्रभावकारी र बिरामीका लागि लाभदायी हुने बताए। यसैबीच, कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणपछि आवश्यक पर्ने प्रयोगशाला परीक्षण सेवा पनि आफ्नै अस्पतालबाट सुरु गरेको छ।
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
मंगलबार, असार ३०, २०८३
