नेपाल हेल्थ न्युज, भक्तपुर । केही समयका लागि रोकिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। केन्द्रले २०८३ असार १९ गते सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको र प्रत्यारोपण गरिएकी बिरामी ११ दिनमै सकुशल डिस्चार्ज भएको जनाएको छ।
केन्द्रका अनुसार काठमाडौंको असन निवासी ३९ वर्षीया गंगा श्रेष्ठलाई उनका ४७ वर्षीय देवर संजय श्रेष्ठले आधा कलेजो दान गरेका हुन्। कलेजो दाता संजय श्रेष्ठ प्रत्यारोपणपछि छैटौं दिनमै डिस्चार्ज भएका थिए भने कलेजो ग्रहणकर्ता गंगा श्रेष्ठ २०८३ असार २९ गते, प्रत्यारोपणको ११औं दिनमा अस्पतालबाट घर फर्किएकी हुन्।
कलेजो प्रत्यारोपण सर्जन डा। रामबाबु साहका अनुसार दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। दुवैले केन्द्रबाट प्राप्त सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्नै देशमा सहज रूपमा कलेजो प्रत्यारोपण सेवा पाउन सकेकोमा खुशी व्यक्त गरेका छन्।
केन्द्रले संसारकै न्यूनतम लागतमध्ये पर्ने करिब १५ देखि २० लाख रुपैयाँ खर्चमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यसपटकको प्रत्यारोपण डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न भएको हो। शल्यचिकित्सा, एनेस्थेसिया, क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, नर्सिङ, अपरेशन थिएटर व्यवस्थापन, डाइटेटिक्स, फिजियोथेरापी तथा प्रशासनिक व्यवस्थापनका चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीसहितको बहुविषयगत टोली प्रत्यारोपणमा संलग्न रहेको केन्द्रले जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपणको सुरुवात गर्ने उपलब्धि यस केन्द्रले हासिल गरेको छ। अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानुनी सुधार र सेवा विस्तारसँगै केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ।
उहाँका अनुसार विगत १४ वर्षमा केन्द्रमा ९९ प्रतिशतभन्दा बढी सफलता दरसहित १ हजार ६६६ वटा मिर्गौला र ३७ वटा कलेजो प्रत्यारोपण सम्पन्न भइसकेका छन्। उपयुक्त जग्गा र आफ्नै भवनको अभाव हुँदाहुँदै पनि देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुईतिहाइ प्रत्यारोपण यही केन्द्रबाट हुने गरेको डा. श्रेष्ठले बताउनुभयो ।
केन्द्रले आगामी दिनमा पनि अंगदानको संस्कृतिलाई प्रोत्साहन गर्दै गुणस्तरीय र सर्वसुलभ प्रत्यारोपण सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३


