नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ति प्रक्रियाअन्तर्गत प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयअन्तर्गतको पदाधिकारी सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि नेपाल नर्सिङ परिषद्, स्वास्थ्य बिमा बोर्ड तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विभिन्न पदका लागि उम्मेदवारहरूको संक्षिप्त सूची वर्णानुक्रमअनुसार प्रकाशित गरेको जनाएको छ।
प्रकाशित विवरणअनुसार नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिस्ट्रार पदका लागि समान रूपमा ७/७ जना तथा उपाध्यक्ष पदका लागि ५ जना उम्मेदवार छनोट भएका छन्। त्यसैगरी स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदका लागि ५ जना र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि ७ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
मन्त्रालयले छनोटमा परेका उम्मेदवारहरूले कार्यविधिअनुसार आवश्यक कागजातहरूको सक्कल प्रतिसहित प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्ने जनाएको छ। यससँगै विभिन्न पदका लागि अन्तर्वार्ताको मिति र समय पनि निर्धारण गरिएको छ।
निर्धारित कार्यतालिकाअनुसार सिंहदरबारस्थित मन्त्रालयमा स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदको प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ साउन १ गते बिहान १० बजेदेखि सुरु हुनेछ। त्यसपछि साउन ४ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक, साउन ५ गते नेपाल नर्सिङ परिषद्को अध्यक्ष, साउन ६ गते उपाध्यक्ष र साउन ७ गते रजिस्ट्रार पदका उम्मेदवारहरूको अन्तर्वार्ता सञ्चालन गरिनेछ।
मन्त्रालयले सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको समयमै उपस्थित हुन अनुरोध गर्दै अन्य निकायमा रिक्त पदाधिकारीहरूको छनोट प्रक्रियासम्बन्धी विवरण पनि क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
बिहीबार, साउन २८, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
