नेभिगेशन
खोपमा समान पहुँच सुनिश्चित गर्न अब लक्षित रणनीति आवश्यक 

हरेक बालबालिकासम्म जीवनरक्षक खोप पुर्याउन विश्व स्वास्थ्य संगठनको आह्वान

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसिया क्षेत्रमा नियमित खोपको उच्च उपलब्धि कायम रहे पनि सन् २०२५ मा १२ लाख बालबालिकाले पहिलो डीटीपी खोप पाएनन् र ६ लाख बालबालिकाले पूरा मात्रा लिन सकेनन्

नेपाल हेल्थ न्युज, नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रमा हरेक बालबालिकासम्म जीवनरक्षक खोप  पुर्याउ थप प्रयास गर्न आह्वान गरेको छ ।

सन् २०२५ मा नियमित खोप कार्यक्रमको उच्च उपलब्धि कायम रहे पनि करिब १२ लाख बालबालिकाले पहिलो नियमित खोप (डीटीपी–१) प्राप्त गर्न सकेनन् भने ६ लाख बालबालिका आवश्यक सबै मात्रा पूरा नगरी आंशिक रूपमा मात्र खोप लगाएका अवस्थामा रहेको डब्लुएचओले जनाएको छ । यसले उनीहरूलाई खोपबाट रोक्न सकिने विभिन्न रोगको जोखिममा राखेको छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रकी कार्यवाहक प्रमुख डा. क्याथारिना बोहेमेले नियमित खोपको उच्च उपलब्धिलाई कायम राख्दै खोपबाट वञ्चित भएका बालबालिकासम्म पुग्न विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्—हामीले उच्च खोप उपलब्धिलाई अझ सुदृढ बनाउँदै खोपबाट छुटेका बालबालिकामा विशेष ध्यान केन्द्रित गर्नुपर्छ । खोप नपाएका वा आंशिक रूपमा मात्र खोप लगाएका प्रत्येक बालबालिका आधारभूत स्वास्थ्य सेवामा पहुँचको असमानता र जीवनरक्षक सुरक्षाबाट वञ्चित भएको संकेत हो। दुर्गम, सीमान्तकृत तथा सेवा पहुँच कम भएका समुदायमा केन्द्रित भएर काम गर्न सकेमा बाँकी रहेका असमानता हटाउन र प्रत्येक बालबालिकालाई खोपको सुरक्षा प्रदान गर्न सकिन्छ ।’

दक्षिण–पूर्वी एसिया क्षेत्र विश्वमै अग्रस्थानमा
डब्लुएचओ र युनिसेफद्वारा सार्वजनिक सन् २०२५ को राष्ट्रिय खोप कवरेज सम्बन्धी पछिल्लो अनुमानअनुसार दक्षिण–पूर्वी एसिया क्षेत्र विश्व स्वास्थ्य संगठनका ६ वटा क्षेत्रमध्ये नियमित बाल खोप कार्यक्रमको दृष्टिले सबैभन्दा राम्रो प्रदर्शन गर्ने क्षेत्र बनेको छ ।

सन् २०२५ मा डिफ्थेरिया, टिटानस र पर्टुसिस (डीटीपी–३) को तेस्रो मात्रा लगाउने बालबालिकाको दर ९४ प्रतिशत पुगेको छ, जुन विश्वव्यापी औसत ८५ प्रतिशत भन्दा उल्लेखनीय रूपमा बढी हो ।

त्यस्तै, दादुरा विरुद्धको पहिलो मात्राको कवरेज सन् २०२४ को ९५ प्रतिशतबाट बढेर २०२५ मा ९६ प्रतिशत पुगेको छ । दोस्रो मात्राको कवरेज पनि ९३ प्रतिशत पुगेको छ, जुन विश्वव्यापी औसतभन्दा माथि रहेको डब्लुएचओले जनाएको छ ।

अझै १२ लाख बालबालिका पहिलो खोपबाट वञ्चित

उच्च उपलब्धिका बाबजुद पनि सन् २०२५ मा यस क्षेत्रमा करिब १२ लाख बालबालिकाले डीटीपी खोपको पहिलो मात्रा नै पाएनन् ।

कोभिड–१९ महामारीका बेला सन् २०२१ मा ३३ लाख ‘जिरो–डोज’ बालबालिका रहेको अवस्थामा त्यसको संख्या ६५ प्रतिशतले घटेको भए पनि सन् २०२४ को तुलनामा सन् २०२५ मा करिब २३ हजारले मात्र कमी आएको डब्लुएचओले जनाएको छ ।

यसका अतिरिक्त करिब ६ लाख बालबालिका आवश्यक तीनै मात्रा पूरा नगरी आंशिक रूपमा मात्र खोप लगाएका अवस्थामा रहेका छन् ।

डब्लुएचओका अनुसार खोप नपाएका र आंशिक रूपमा मात्र खोप लगाएका अधिकांश बालबालिका दुर्गम, सेवा पहुँच कम भएका, द्वन्द्व प्रभावित तथा सीमान्तकृत समुदायमा केन्द्रित छन्। अघिल्ला वर्षका खोप नपाएका बालबालिकासमेत जोडिँदा समुदायमा प्रतिरक्षा कमजोर रहँदा खोपबाट रोक्न सकिने रोगको प्रकोप फैलिने जोखिम बढिरहेको छ ।

प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्नुपर्नेमा जोड

डा. बोहेमेले खोपबाट छुटेका बालबालिका पहिचान गर्न स्थानीय तथ्यांकको प्रयोग, समुदायसँग सहकार्य, प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण तथा अन्य आधारभूत स्वास्थ्य सेवासँग खोप कार्यक्रमलाई एकीकृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन्—‘स्थानीय आवश्यकताअनुसार रणनीति बनाउने, समुदायसँग सहकार्य गर्ने र खोप सेवालाई अन्य स्वास्थ्य सेवासँग जोड्ने कार्यले प्रतिरक्षाको खाडल हटाउन र कुनै पनि बालबालिका छुट्न नदिन महत्वपूर्ण भूमिका खेल्छ ।’

दादुरा नियन्त्रणमा दुवै मात्रा अनिवार्य

डा. बोहेमेले दादुरा तथा रुबेला उन्मूलनको क्षेत्रीय लक्ष्य हासिल गर्न दादुरा विरुद्धका दुवै मात्रा समयमै लगाउनु अत्यन्त आवश्यक रहेको बताइन्।

उनका अनुसार हालै बंगलादेशसहित दक्षिण–पूर्वी एसिया क्षेत्रका केही देशमा देखिएका दादुराका प्रकोपले प्रतिरक्षामा रहेको सानो कमजोरीले पनि रोग तीव्र रूपमा फैलिन सक्ने देखाएको छ ।

उनले भनिन्—‘यी प्रकोपले प्रत्येक योग्य बालबालिकालाई समयमै खोप लगाउनु कति आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएका छन् ।’

जीवनचक्रभरि खोप सेवाको विस्तार

डब्लुएचओका अनुसार यस क्षेत्रका अधिकांश देशले अहिले शिशु तथा बालबालिकामा मात्र सीमित नभई किशोर, वयस्क र ज्येष्ठ नागरिकसम्म खोप सेवा विस्तार गर्ने ‘लाइफ–कोर्स’ (जीवनचक्र) दृष्टिकोण अपनाइरहेका छन् ।

गर्भवती महिलामा टिटानस–डिफ्थेरिया खोपको उच्च कवरेज कायम राख्नु आमा र नवजात शिशुलाई टिटानसबाट जोगाउन अत्यन्त महत्वपूर्ण रहेको डब्लुएचओले जनाएको छ । साथै, ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप विस्तारले पाठेघरको मुखको क्यान्सर को भार घटाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

डा. बोहेमेले भनिन्—अब हाम्रो प्राथमिकता समान पहुँचमा आधारित रणनीतिमार्फत हरेक बालबालिकासम्म पुग्ने, समुदायको सुरक्षा सुनिश्चित गर्ने र ’इम्युनाइजेसन एजेन्डा २०३०’ का लक्ष्य हासिल गर्ने हुनुपर्छ। साथै, जीवनका हरेक चरणमा सबै नागरिकले खोपको सुरक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ खोप सेवाको दायरा निरन्तर विस्तार गर्न आवश्यक छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्पेशल स्टोरी