नेभिगेशन

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले उठाएका मागप्रति आफ्नो समर्थन जनाएको छ। संघले सरकारलाई उनीहरूको माग तत्काल सम्बोधन गर्दै इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड (भत्ता) मा देशभर समान व्यवस्था लागू गर्न आग्रह गरेको हो।

बुधबार जारी गरिएको विज्ञप्तिमा संघले इन्टर्न चिकित्सकहरू कठिन कार्यपरिस्थिति र उच्च मानसिक दबाबका बीच पनि निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गरेको छ। तर उनीहरूले प्राप्त गर्ने स्टाइपेन्डमा संस्थाअनुसार ठूलो असमानता रहेको भन्दै त्यसलाई वैज्ञानिक र समान आधारमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

संघका अनुसार इन्टर्न चिकित्सकहरूको भत्ता व्यवस्थापनका लागि सरकारले यसअघि कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गरिसकेको भए पनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन। प्रतिवेदन कार्यान्वयनमा भएको ढिलाइप्रति संघले असन्तुष्टि व्यक्त गर्दै शीघ्र निर्णय लिन सरकारसँग आग्रह गरेको छ।

नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरूले उठाएका मागहरू जायज रहेको उल्लेख गर्दै तिनको यथाशीघ्र सम्बोधन हुनुपर्ने धारणा राखेको छ। साथै देशभरका सबै शिक्षण संस्थामा इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा एकरूपता कायम गर्न आवश्यक नीति लागू गर्न पनि सरकारलाई अनुरोध गरिएको छ।

संघले आन्दोलनरत इन्टर्न चिकित्सकहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सेवाको गुणस्तर, चिकित्सकहरूको पेशागत सम्मान तथा उनीहरूको हकहित सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।

nma-press-release-13-1784112771.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट