नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गर्ने व्यवस्था गरेको छ। यससँगै साउन १ गतेदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजबाट सेवा लिने बिरामीले उपचार खर्चसँगै अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक प्रस्तुत गर्दै निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू गर्ने प्रस्ताव गरेका थिए। सरकारका अनुसार यसबाट उठ्ने रकम गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार तथा स्वास्थ्य पूर्वाधार विकासमा खर्च गरिनेछ।
नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क थप गरी असुल गर्नुपर्नेछ। उदाहरणका लागि, कुनै बिरामीको उपचार खर्च १० हजार रुपैयाँ भएमा अब थप ३०० रुपैयाँ स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ।
आर्थिक ऐनअनुसार स्वास्थ्य सेवा प्रदायकले अनिवार्य रूपमा बिल जारी गरी उक्त शुल्क संकलन गर्नुपर्नेछ। संकलित रकम प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।
शुल्क संकलन वा दाखिलामा अनियमितता भए कानुनबमोजिम ब्याज तथा जरिबानाको व्यवस्था गरिएको छ। शुल्क निर्धारणप्रति असहमति भएमा सम्बन्धित व्यक्ति वा संस्थाले आन्तरिक राजस्व विभागमार्फत पुनरवलोकन र त्यसपछि आवश्यक परे राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था पनि गरिएको छ।
सरकारको यो निर्णयप्रति स्वास्थ्य क्षेत्रका सरोकारवालाले भने असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार सरकारी स्वास्थ्य संस्थाले पर्याप्त र गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको अवस्थामा निजी स्वास्थ्य सेवामा अतिरिक्त शुल्क लगाउँदा यसको प्रत्यक्ष भार बिरामीमाथि पर्नेछ।
यता निजी अस्पताल सञ्चालकहरूले भने आफूहरू सरकारको निर्णय कार्यान्वयन गर्ने माध्यम मात्र भएको बताएका छन्। उनीहरूका अनुसार सरकारले तोकेको ३ प्रतिशत स्वास्थ्य समता शुल्क बिरामीबाट संकलन गरी राजस्वमा बुझाउनुपर्ने भएकाले अतिरिक्त आर्थिक भार अन्ततः सेवाग्राहीमै पर्नेछ।
नयाँ व्यवस्था लागू भएसँगै निजी स्वास्थ्य संस्थाबाट उपचार सेवा लिने बिरामीले अब उपचार शुल्कसँगै ३ प्रतिशत स्वास्थ्य समता शुल्क पनि तिर्नुपर्ने भएको छ।
करिब १०० दिनमै निःशुल्क स्वास्थ्य पोर्टलबाट २,२०० भन्दा बढी नागरिक लाभान्वित
बिहीबार, असार ३२, २०८३
छोरीको कलेजो दानबाट बुबाले पाए नयाँ जीवन, किस्टमा १७औँ सफल प्रत्यारोपण
बिहीबार, असार ३२, २०८३
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
बिहीबार, असार ३२, २०८३
स्वीकृत बिदाबिना कार्यालय नआएका २३ स्वास्थ्यकर्मी कारबाहीको दायरामा (सूचीसहित)
बिहीबार, असार ३२, २०८३
