नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास (आरएन्डडी), गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ।
समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। साथै, सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत गरिने व्यवस्था मिलाइनेछ।
मन्त्रालयका अनुसार यस व्यवस्थाले सरकारी खरिद प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस पहलबाट स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई थप सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।
बीपी प्रतिष्ठान परिसरका ३५ औषधि पसलमा सिलबन्दी
मंगलबार, साउन ५, २०८३
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
मंगलबार, साउन ५, २०८३
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
मंगलबार, साउन ५, २०८३

