नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ । सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन् । बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन् । बाँकी ७८९ बिमा नभएका बिरामी हुन । उपचारका लागि आएकामध्ये ६८७ जना नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ ।
एक दिनमा आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ जना रहेको छ । अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार ७० प्रतिशत हाराहारी बिरामी बिमाका रहेका छन् । आकस्मिक सेवामा आएकामध्ये १०१ जना बिमा नभएका बिरामी हुन् ।
संयोजक पौडेलका अनुसार सोमबार भिडियो एक्सरे गरेका बिरामीको सङ्ख्या ५०७ रहेको छ । यसमध्ये बिमाका ४१५ जना हुन् भने ९२ जना बिमा नभएका बिरामी हुन् । एकैदिन ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको उनले बताए । अस्पतालमा आएका बिरामीमध्ये ८० वर्ष नाघेका बिरामीको सङ्ख्या १०९ जना रहेको छ भने ६० वर्षदेखि ७९ वर्षसम्म उमेरका बिरामी ७१३ जना रहेका छन् ।
भरतपुर अस्पताल स्वास्थ्य बिमाका लागि देशमा नै नमूनाका रूपमा लिने गरिन्छ । यहाँ चितवनसहित २२ जिल्लाका बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि बिरामीको चाप उच्च हुँदै गएको हो ।
स्वास्थ्य बिमा बोर्डबाट यस अस्पतालले गत आर्थिक वर्षमा रु ९२ करोड ३६ लाख ४२ हजार ९४७.३६ भुक्तानी पाएको छ । अस्पतालमा आएका बीमाका बिरामी उपचार गरेबापत अस्पतालले यो भुक्तानी पाएको हो । पौडेलका अनुसार अघिल्लो आव र गत आवको मङ्सिरसम्मको भुक्तानी आएको हो । त्यसयताको झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ ।
अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बीमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिरामीको चाप उच्च हुँदा व्यवस्थापनमा जटिलता आएको बताए । रासस
बीपी प्रतिष्ठान परिसरका ३५ औषधि पसलमा सिलबन्दी
मंगलबार, साउन ५, २०८३
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
मंगलबार, साउन ५, २०८३
नेपाल औषधि लिमिटेडले दुई वर्षमा ३६ प्रकारका औषधि उत्पादन गर्ने
मंगलबार, साउन ५, २०८३

