नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालनमा रहेका ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ। इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा विभिन्न कानुनी कमजोरी फेला परेपछि पसलहरूमा कारबाही गरिएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार असार महिनाको अन्तिम सातादेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन सुरु गरिएको थियो। सोमबारसम्मको अनुगमनमा आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका तथा व्यवसाय नवीकरण नगरेका पसलहरूलाई सिलबन्दी गरिएको उनले बताए।
अनुगमन टोली आउने जानकारी पाएपछि केही पसल बन्द गरी सञ्चालक सम्पर्कविहीन भएको तथा अनुगमनमा असहयोग गरेको पाइएकाले त्यस्ता पसलमाथि पनि सिलबन्दीको कारबाही गरिएको प्रहरीले जनाएको छ।
सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।
यसअघि गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले औषधि पसलहरूको अनुगमनलाई थप प्रभावकारी बनाएको हो।
प्रशासनले प्रतिष्ठान परिसरमा सञ्चालित सबै औषधि पसललाई कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
मंगलबार, साउन ५, २०८३
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
मंगलबार, साउन ५, २०८३
नेपाल औषधि लिमिटेडले दुई वर्षमा ३६ प्रकारका औषधि उत्पादन गर्ने
मंगलबार, साउन ५, २०८३

