नेभिगेशन

देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात

नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर सर्पदंश उपचारका लागि अत्यावश्यक मानिने एन्टी स्नेक भेनम को अभाव देखिएको छ। अस्पताल तथा सर्पदंश उपचार केन्द्रहरूमा पर्याप्त मात्रामा औषधि नहुँदा प्रभावित बिरामीहरूले उपचारका लागि टाढाटाढा धाउनुपर्ने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार प्रतिनिधि सभा बैठकमा हाल देशभर जम्मा १ हजार २६९ भाइल एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी दिइन्।

उनका अनुसार केन्द्रीय स्टोरमा १३८ भाइल, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ भाइल, स्वास्थ्य कार्यालयअन्तर्गतका २२२ सर्पदंश उपचार केन्द्रहरूमा ४६५ भाइल मौज्दात रहेको छ।

मन्त्री मेहताले उपलब्ध मौज्दातबाट करिब ८५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन रहेको बताइन्। एन्टी स्नेक भेनमको अभाव समाधान गर्न स्वास्थ्य सेवा विभागले १३ हजार २०० भाइल खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै उनले उक्त औषधि साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको बताइन्।

उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सबै सर्पदंश उपचार केन्द्रमा एन्टी स्नेक भेनम वितरण गर्ने व्यवस्था गरिएको उल्लेख गरिन्।

सर्पदंशका घटनामा समयमै उपचार अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री मेहताले सर्पले टोकेको अवस्थामा बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्‍याउन सबैलाई आग्रह गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ