नेपाल हेल्थ न्युज, काठमाडौं । देशका ७२ जिल्लामा हालसम्म दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुस महिनायता सङ्कलित तथ्याङ्कअनुसार देशभर डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा ५६८ जना सङ्क्रमित भएका छन्। त्यसपछि गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ र कर्णाली प्रदेशमा ४२ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षायाममा पानी जम्ने स्थान बढ्ने भएकाले डेङ्गु सार्ने लामखुट्टेको प्रजननसमेत बढ्ने र सङ्क्रमणको जोखिम उच्च रहने जनाएको छ। यसलाई ध्यानमा राख्दै घर, आँगन तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुलाका लुगा लगाउने, झुलको प्रयोग गर्ने तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
डा. दाहालका अनुसार वर्षायामसँगै डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै गएपछि साउन महिनादेखि तीन महिने डेङ्गु सचेतना अभियान सञ्चालन गरिएको छ। अभियानमार्फत समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै डेङ्गु नियन्त्रणलाई प्रभावकारी बनाइने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
महाशाखाले डेङ्गु नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै तीन महिने सचेतना अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
