नेभिगेशन

विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनको नियुक्तिको निर्णय गरेको हो।

प्रा.डा. श्रेष्ठ नर्सिङ शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्ने नेपालकी पहिलो नर्सका रूपमा उनी परिचित छिन्। साथै, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ विषयकी पहिलो प्राध्यापक बन्ने उपलब्धि पनि उनको नाममा रहेको छ।

उनले महाराजगञ्ज नर्सिङ क्याम्पसबाट पीसीएल नर्सिङ अध्ययन गरेपछि भारतबाट डिप्लोमा तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी हुन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान अध्ययन संस्थानबाट नर्सिङ विषयमा विद्यावारिधि सम्पन्न गरेकी थिइन्। उनको अनुसन्धान हृदयरोगीको जीवनस्तर सुधारसँग सम्बन्धित विषयमा केन्द्रित रहेको बताइन्छ।

व्यावसायिक जीवनमा उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, थापाथली प्रसूति अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत संस्थामा स्टाफ नर्सदेखि वरिष्ठ नर्सिङ अधिकृतसम्मका जिम्मेवारी सम्हालेकी छन्। साथै, शिक्षण क्षेत्रमा सहायक प्राध्यापक, सहप्राध्यापक हुँदै प्राध्यापकको भूमिकासमेत निर्वाह गरेकी छन्।

शिक्षा तथा अनुसन्धान क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनले नेपाल विद्याभूषण ‘क’ सम्मान प्राप्त गरेकी छन्। विश्वविद्यालय अनुदान आयोगको पीएचडी फेलोसिप तथा भारत सरकारको उच्च शिक्षासम्बन्धी छात्रवृत्ति पनि उनले प्राप्त गरेकी थिइन्।

प्रा.डा. श्रेष्ठ नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ, एसियन एसोसिएसन अफ कार्डियाक नर्सेस तथा नेपाल पीएचडी एसोसिएसनलगायत विभिन्न व्यावसायिक संस्थासँग आबद्ध रहेर काम गर्दै आएकी छन्।

नियुक्तिपछि उनले उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी वातावरणको विकास तथा समकक्षता सेवालाई थप प्रभावकारी र छरितो बनाउने दिशामा आफ्नो प्राथमिकता रहने बताएकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट