नेभिगेशन

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। लामो समयदेखि केन्द्रमै कार्यरत उनी मुटु शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवाका अनुभवी चिकित्सकका रूपमा परिचित छन्।

ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुल र बुढानीलकण्ठ विद्यालयबाट एसएलसी पूरा गरेका हुन्। भारतको दि लरेन्स स्कुल, सिम्लाबाट उच्च माध्यमिक अध्ययन सकेपछि उनले सन् २००२ मा ढाका विश्वविद्यालयअन्तर्गत बंगलादेश मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका थिए।

त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा इन्टर्नसिप र मेडिकल अधिकृतका रूपमा सेवा दिएका उनले महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजीमा एमडी पूरा गरे। सन् २०१२ मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिस्ट्रारका रूपमा प्रवेश गरेका उनी हालसम्म केन्द्रमै कार्यरत छन्।

गंगालालमा चार वर्ष सेवा गरेपछि उनले मलेसियाबाट कार्डियाक एनेस्थेसियामा एक वर्षे फेलोसिप पूरा गरेका थिए। पछिल्लो सात वर्षदेखि कार्डियाक एनेस्थेसिया विभागको प्रमुखका रूपमा कार्यरत उनले एनेस्थेसिया सेवाको विकास, दक्ष जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन उल्लेखनीय योगदान दिएका छन्।

चिकित्सा क्षेत्रकै परिवारबाट आएका प्रा.डा. अमात्यका पिता डा. नारायणगोविन्द अमात्य र आमा प्रा.डा. रोशना अमात्य चिकित्सक हुन्। एनेस्थेसियोलोजी शिक्षाको विकासमा अग्रणी मानिने आमाकै प्रेरणाबाट उनले यही विधा रोजेका हुन्। उनकी दिदी प्रा.डा. अर्चना अमात्य प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् र हाल निक साइमन्स इन्स्टिच्युटको नेतृत्व गरिरहेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट