नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले हालै सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजाले नेपाल र विभिन्न विदेशी शैक्षिक संस्थाबाट चिकित्सा शिक्षा अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण दरमा उल्लेखनीय अन्तर देखाएको छ।
काउन्सिलका अनुसार ७ र ८ साउनमा सञ्चालन गरिएको विशेष परीक्षामा कुल १ हजार १३ जना सहभागी भएका थिए। तीमध्ये ९ सय ४७ जना अर्थात् करिब ९३.५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन्।
नेपालका मेडिकल कलेजबाट अध्ययन गरेका ९ सय १९ परीक्षार्थीमध्ये अधिकांशले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। केवल १५ जना मात्र अनुत्तीर्ण भएका छन्।
विदेशबाट चिकित्सा शिक्षा पूरा गरेका परीक्षार्थीको नतिजा भने देशअनुसार फरक–फरक देखिएको छ। भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण भएका छन्, जुन विदेशी समूहभित्र सबैभन्दा राम्रो नतिजामध्ये एक हो।
चीनबाट अध्ययन गरेका ३७ जनामध्ये केवल ८ जना मात्र सफल भएका छन् भने अधिकांश अनुत्तीर्ण भएका छन्। इजिप्टबाट सहभागी १९ जनामध्ये ८ जना, किर्गिस्तानका ५ जनामध्ये २ जना तथा फिलिपिन्सका ५ जनामध्ये २ जनाले परीक्षा पास गरेका छन्।
पाकिस्तानबाट सहभागी सबै ९ जना उत्तीर्ण भएका छन्। अमेरिकाबाट सहभागी एक जना पनि सफल भएका छन् भने बेलारुसबाट सहभागी एक जना परीक्षामा असफल भएका छन्।
नेपालमा चिकित्सकीय अभ्यास गर्न मेडिकल शिक्षा पूरा गर्नु मात्र पर्याप्त हुँदैन। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै चिकित्सकका रूपमा अभ्यास गर्न अनुमति दिइन्छ। काउन्सिलले वर्षमा दुई पटक यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार यस पटकको नतिजालाई आधार बनाएर कुनै देश वा शैक्षिक संस्थाको शिक्षाको गुणस्तरबारे निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन। उनका अनुसार यो परीक्षा केवल परीक्षार्थीको योग्यता परीक्षणका लागि सञ्चालन गरिएको हो।
उनले विशेष परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगलाई पनि उपलब्ध गराइने जानकारी दिँदै विस्तृत अध्ययन, गुणस्तर मूल्यांकन तथा आवश्यक नीतिगत निर्णय गर्ने जिम्मेवारी आयोगकै रहेको बताए। साथै, नतिजा सार्वजनिक गर्नुको उद्देश्य प्रशासनिक पारदर्शिता कायम गर्नु रहेको उनको भनाइ छ।




नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३
