नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ। छलफलमा आगामी चार वर्षका लागि खोप सहयोग, सह–वित्तीय लगानी तथा राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनाबारे चर्चा भएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीले आगामी चार वर्षमा नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिइएको छ।
प्रस्तावअनुसार नेपालले भने सो अवधिमा १ करोड ७१ लाख अमेरिकी डलर सह–वित्तीय लगानी गर्नुपर्नेछ। खोप कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउन नेपालले गर्नुपर्ने वित्तीय योगदान र स्रोत व्यवस्थापनबारे समेत बैठकमा छलफल भएको थियो।
नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ।
हाल गाभीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउँदै आएका ११ प्रकारका खोपमध्ये पाँच प्रकारका खोपमा सह–लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। परिवार कल्याण महाशाखाअन्तर्गत सञ्चालित राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ।
विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गइरहेको अवस्थामा नेपालमा राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा बैठकमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ।
बैठकमा गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गरेका थिए। साथै, आगामी दिनमा पनि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार प्रमुख पदाधिकारीका लागि खुला आवेदन आह्वान
आइतबार, साउन २४, २०८३
