नेभिगेशन

ढल्केबरमै ट्रमा सेन्टर बनाउन माग गर्दै राजमार्गमा चक्काजाम

नेपाल हेल्थ न्युज, जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीयवासीले आन्दोलनलाई निरन्तरता दिएका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको अगुवाइमा सोमबार पूर्व–पश्चिम राजमार्गमा आधा घण्टा चक्काजाम गरिएको हो।

स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्ग अवरुद्ध गरिएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सरकारको निर्णयविरुद्ध नाराबाजीसमेत गरेका थिए।

ढल्केबरमा नै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग राख्दै संघर्ष समितिले गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन घोषणा गरेको हो। त्यसयता स्थानीयस्तरमा विरोधका कार्यक्रम भइरहेका छन्।

संघीय संसद्मा बुधबार स्वास्थ्य मन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरका स्थानीय थप आक्रोशित भएका हुन्। प्रस्तावित आयोजना ढल्केबरबाट अन्यत्र सार्न खोजिएको भन्दै संघर्ष समितिले निर्णय सच्याउन सरकारसँग माग गर्दै आएको छ।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै, २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गरिने उनले जानकारी दिए।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि मिथिला नगरपालिका–७, साविक ढल्केवर गाविस–२‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाइएको थियो। संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत उक्त स्थानमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो।

महतोका अनुसार आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ र जग्गाको लालपुर्जासमेत तयार भइसकेको छ। निर्माणको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना अन्यत्र सार्ने विषय आएपछि स्थानीयवासीले विरोध जनाएका हुन्।

संघर्ष समितिले सरकारले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्ने निर्णय कायम राख्नुपर्ने र अन्यथा आन्दोलन थप चर्काउने चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट