नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल चार महिनादेखि पूर्ण पदाधिकारीविहीन हुँदा अस्पतालको सेवा प्रभावित हुन थालेको छ। आवश्यक उपचार उपकरण तथा सामग्री खरिदका लागि हुने खरिद तथा टेन्डर प्रक्रिया अघि बढ्न नसक्दा अस्पतालका विभिन्न सेवा प्रभावित भएका हुन्।
अस्पतालका अनुसार करिब दुई साताअघि न्याम्सको उपकुलपतिमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्। तर, अन्य पदाधिकारी नियुक्त हुन नसक्दा न्याम्स तथा वीर अस्पतालको प्रशासनिक र खरिदसम्बन्धी काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
गत वैशाखमा पूर्वपदाधिकारीहरूको कार्यकाल सकिएपछि न्याम्स तथा वीर अस्पताल पदाधिकारीविहीन बनेका थिए। उपकुलपति नियुक्त भए पनि अन्य पदाधिकारी नहुँदा अस्पतालमा आवश्यक सामग्री तथा उपकरण खरिदमा समस्या देखिएको हो।
अस्पतालका डा. प्रकाश बुढाथोकीका अनुसार ल्याब तथा अन्य सेवाका लागि आवश्यक रिएजेन्ट, अपरेसन थिएटरका ओटी टेबल, भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न सकिएको छैन। यस्ता उपकरण तथा सामग्री आवश्यकता अनुसार जुनसुकै बेला खरिद गर्नुपर्ने भए पनि पदाधिकारी अभावका कारण प्रक्रिया अघि बढाउन समस्या भइरहेको उनले बताए।
हाल अस्पतालमा डा. प्रभा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। तर, निमित्त निर्देशकलाई आवश्यक उपकरण तथा सामग्री खरिद गर्ने पूर्ण अधिकार नहुँदा समस्या थपिएको अस्पतालका अधिकारीहरू बताउँछन्।
प्राप्त अधिकारसमेत छोटो अवधिका लागि मात्रै जिम्मेवारी सम्हाल्ने निमित्त निर्देशकले जोखिम मोलेर प्रयोग गर्न नचाहने अवस्था रहेको डा. बुढाथोकीले बताए। यसका कारण कतिपय अत्यावश्यक सामग्री खरिद हुन नसकेको तथा खरिद भएका सामग्री पनि सीमित मात्रामा खरिद गर्नुपर्दा महँगो पर्ने गरेको उनको भनाइ छ।
“थोरै मूल्यका सामानहरू किने पनि खरिद प्रक्रियाबाट आउँदा सस्तो पर्छ,” डा. बुढाथोकीले भने। अस्पतालमा नियमित रूपमा आवश्यक पर्ने सामग्री तथा उपकरणको खरिद प्रक्रिया सहज रूपमा अघि बढ्न नसक्दा सेवा प्रवाहमा समेत असर पर्न सक्ने अस्पतालका अधिकारीहरूको भनाइ छ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले न्याम्समा उपकुलपति नियुक्त भइसकेको र बाँकी पदाधिकारी सिनेटको बैठकबाट नियुक्त हुने बताए। रिक्त रहेका अन्य पदाधिकारी पनि छिट्टै नियुक्त हुने सम्भावना रहेको उनले जानकारी दिए।
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनका लागि दरखास्त आह्वान
मंगलबार, साउन २६, २०८३
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबिच सहकार्य
मंगलबार, साउन २६, २०८३
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने
मंगलबार, साउन २६, २०८३

