नेभिगेशन

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितले पाउँदै आएका औषधिको सूची परिमार्जन गरिएको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा योजनाबाट उपलब्ध हुने औषधिको संख्या घटाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब स्वास्थ्य बीमामार्फत १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । यसअघि बीमा कार्यक्रमको सूचीमा १ हजार २८९ प्रकारका औषधि समावेश थिए । नयाँ सूची तयार गर्दा १८७ प्रकारका औषधि हटाइएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै उपचारमा प्रयोग हुने समान प्रकृतिका औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधिलाई बीमा सूचीबाट अलग गर्नु तथा नेपालमा प्रयोगमा नरहेका औषधि हटाउनु सूची परिमार्जनका प्रमुख कारण हुन् ।

सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउने केही औषधि यसअघि स्वास्थ्य बीमाको सूचीमा समेत थिए । एउटै औषधिका लागि सरकारी निःशुल्क सेवा र बीमा दुवैबाट सुविधा उपलब्ध हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको बोर्डको भनाइ छ ।

बोर्डले गत ३० असारमा बसेको बैठकबाट नयाँ सुविधा थैली स्वीकृत गरेको थियो । स्वीकृत व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ ।

औषधिको संख्या घटे पनि बीमितले प्राप्त गर्ने उपचार सेवामा उल्लेख्य असर नपर्ने बोर्डले जनाएको छ । प्रयोगमा नरहेका तथा समान प्रकृतिका औषधि हटाइएकाले आवश्यक उपचार वैकल्पिक औषधिबाट व्यवस्थापन गर्न सकिने बोर्डको दाबी छ । बोर्डका अनुसार सूची पुनरावलोकन गर्दा बीमितलाई उपचारबाट वञ्चित नहुने विषयलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट