नेभिगेशन

सर्पदंश र रेबिज उपचारका लागि आवश्यक औषधि टेकुमा आइपुग्यो

नेपाल हेल्थ न्युज, काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधि तथा उपचार सामग्री केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार सर्पदंश उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम (ASVS) बिहीबार साँझ केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला गरिएको हो।

त्यसैगरी, रेबिजविरुद्ध प्रयोग गरिने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (eRIG) समेत स्टोरमा प्राप्त भएको विभागले जनाएको छ।

विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार प्राप्त सामग्री आवश्यक प्रक्रिया पूरा गरेपछि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा पठाइनेछ।

सर्पदंश र रेबिजको जोखिममा रहेका बिरामीको उपचारमा आवश्यक पर्ने यी सामग्रीको आपूर्ति भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा सञ्चालन गर्न थप सहज हुने विभागको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट