नेभिगेशन

३७६ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्‍यो ३ अर्ब ५६ करोड भुक्तानी

नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा प्रदान गरेका ३७६ वटा सूचीकृत अस्पताललाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा सोधभर्ना गरेको छ।

बोर्डको २८ साउनमा बसेको निर्णयअनुसार चालु आर्थिक वर्षकै बजेटबाट उक्त रकम अस्पतालहरूलाई भुक्तानी गरिएको हो। बोर्डका अनुसार अस्पतालहरूले दाबी गरेको रकममध्ये २०८२ माघ र फागुन महिनासम्मको सोधभर्ना गरिएको हो।

सोधभर्ना पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी अस्पताल तथा शिक्षण अस्पतालसमेत रहेका छन्।

ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताललाई समेत भुक्तानीमा समेटिएको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेश गरेका दाबीको रुजु तथा मूल्यांकन गरी स्वीकृत विवरणका आधारमा रकम सोधभर्ना गरिएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बोर्डले सोही बजेटअन्तर्गत बीमितको उपचारबापत स्वास्थ्य संस्थाहरूलाई सोधभर्ना गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट