नेभिगेशन

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले काठमाडौंको ठमेलमा सञ्चालनमा रहेको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ तत्काल बन्द गरी सिलबन्दी गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ।

काठमाडौं महानगरपालिका–२६ मा रहेको उक्त क्लिनिकविरुद्ध परेको उजुरीमाथि काउन्सिलले छानबिन टोली गठन गरेको थियो। टोलीको प्रतिवेदन तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा क्लिनिक सञ्चालनमा गम्भीर त्रुटि देखिएको भन्दै काउन्सिलले कारबाही अघि बढाएको हो।

काउन्सिलका अनुसार आवश्यक स्वीकृति नलिई क्लिनिक सञ्चालन गरिएको पाइएको छ। त्यसैले क्लिनिकमा तत्काल सिलबन्दी गर्न र त्यहाँ रहेका डिजिटल तथा मेडिकल अभिलेखलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सम्बन्धित निकायलाई भनिएको छ।

छानबिनका क्रममा क्लिनिकमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको योग्यता, दर्ता र अनुमतिसम्बन्धी विषयमा समेत प्रश्न उठेको काउन्सिलले जनाएको छ।

एक चिकित्सकले म्याद सकिएको लाइसेन्स प्रयोग गर्दै आफ्नो स्वीकृत कार्यक्षेत्रभन्दा बाहिर गएर उपचार गरेको भेटिएपछि उनीसँग स्पष्टीकरण मागिएको छ। अर्का चिकित्सकले काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी बिरामी तथा सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएपछि उनीविरुद्ध पनि प्रक्रिया अघि बढाइएको छ।

त्यसैगरी, क्लिनिकमा संलग्न एक विदेशी चिकित्सकको शैक्षिक योग्यता र संस्थासँगको संलग्नताबारे आधिकारिक अभिलेख परीक्षण भइरहेको काउन्सिलले जनाएको छ। अर्का चिकित्सकले पेश गरेको प्रशिक्षणसम्बन्धी प्रमाणपत्रको वास्तविकताबारे पनि अनुसन्धान जारी छ।

दर्ता वा आवश्यक इजाजतपत्रबिना क्लिनिकमा कार्यरत स्वास्थ्य सहायकलगायत अन्य स्वास्थ्यकर्मीमाथि कारबाहीका लागि सम्बन्धित पेशागत परिषद्लाई सिफारिस गरिएको छ।

काउन्सिलले क्लिनिकभित्र गैरकानुनी रूपमा फार्मेसी सञ्चालन भएको र प्रयोग गरिएका औषधिको स्रोतसमेत स्पष्ट हुनुपर्ने जनाएको छ। यस विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नियमावली, २०२४ मा रहेको व्यवस्थाअनुसार सम्बन्धित पक्षमाथि कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट