नेभिगेशन

स्वास्थ्य बिमा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरण घरबाटै गर्न सकिने

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण तथा सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी) लगायतका सेवा अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ ।

बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार शुक्रबारदेखि सुरु गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राहीले दर्ता सहयोगीको प्रत्यक्ष सहयोगबिनै आफैँ अनलाइन फाराम भरेर स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन तथा बिमालेख नवीकरण गर्न सक्नेछन् ।

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।

प्रवक्ता शाहले यसअघि दर्ता सहयोगीमार्फत मात्र हुँदै आएका बिमा आबद्धता र नवीकरणका काम अब डिजिटल माध्यमबाटै गर्न सकिने बताउनुभयो । उहाँका अनुसार अनलाइन सेवाका लागि इसेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ प्रणालीबाट व्यक्ति स्वयंले मात्रै नभई दर्ता सहयोगीले समेत परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्न तथा बिमालेख नवीकरण गर्न सक्नेछन् ।

हाल स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ जना आबद्ध रहेको बोर्डले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान रकममा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुने व्यवस्था छ । परिवारमा थप सदस्य थपिँदा प्रतिव्यक्ति सात सय रुपैयाँका दरले योगदान रकम थपिने र प्रत्येक सदस्यबापत २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

यस्तै, आठ प्रकारका कडा रोगका लागि थप एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट