नेपाल हेल्थ न्युज, राजविराज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल एक सय शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।
आइतबार अस्पताल निरीक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री मेहताले अस्पतालको स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नवनिर्मित भवन हस्तान्तरणलगत्तै सघन उपचार कक्ष (आईसीयू) सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री मेहताले भदौ महिनाभित्र भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो। अस्पतालको सेवा विस्तारका लागि आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो।
मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामसमेत अघि बढिरहेको बताउँदै चालु आर्थिक वर्षमा प्रतिष्ठानका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। प्रतिष्ठानसम्बन्धी ऐन निर्माणको प्रक्रिया पनि अघि बढिरहेको उहाँले बताउनुभयो।
अस्पताललाई तत्काल एक सय शय्यामा विस्तार गरिए पनि प्रतिष्ठानको काम सुरु भएपछि भविष्यमा तीन सय शय्यासम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको मन्त्री मेहताले उल्लेख गर्नुभयो। प्रतिष्ठान र अस्पतालको विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
अन्तरक्रियामा अस्पतालका सामाजिक इकाइ प्रमुख सूर्यकान्त झाले अस्पतालबाट प्रवाह भइरहेका सेवा, उपलब्ध सुविधा, जनशक्ति तथा अस्पतालको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो। उहाँले नवनिर्मित भवन शीघ्र हस्तान्तरण, नर्सिङ कलेज सञ्चालन, अस्पताल विकास समिति गठन तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन आवश्यक पहल गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित आवश्यक जनशक्ति व्यवस्थापन, आईसीयू सञ्चालन, औषधिको नियमित उपलब्धता तथा नयाँ भवनको शीघ्र हस्तान्तरण गर्न माग गरेका थिए। स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध हुने औषधि पर्याप्त रूपमा नपाइने तथा करारमा कार्यरत कर्मचारीले न्यून पारिश्रमिकमा काम गर्नुपरेको गुनासोसमेत मन्त्रीसमक्ष राखिएको थियो।
गजेन्द्रनारायण सिंह अस्पतालमा यसअघि पनि सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न घोषणा तथा प्रतिबद्धता हुँदै आए पनि कार्यान्वयन पक्ष कमजोर रहेको स्थानीयको गुनासो छ। यसपटक गरिएका प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्ने स्थानीयको अपेक्षा रहेको छ।
यसै क्रममा मन्त्री मेहताले आइतबारै सप्तरीको भारदहस्थित जिल्ला अस्पतालको समेत निरीक्षण गर्नुभयो। उहाँले अस्पतालको सेवा अवस्था, पूर्वाधार, जनशक्ति तथा स्वास्थ्य सेवा प्रवाहबारे जानकारी लिनुका साथै आवश्यक सुधारका विषयमा चासो राख्नुभयो।
निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सांसद पुष्पा चौधरी, डा. अङ्किता ठाकुर, गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रकुमार मण्डल, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतको सहभागिता थियो।
ललितपुरमा चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु
सोमबार, भदौ १, २०८३
स्वास्थ्य मन्त्रालयको नाम फेरि परिवर्तन हुने
सोमबार, भदौ १, २०८३
इन्टर्न डाक्टरहरूको मासिक निर्वाह भत्तालाई निरन्तरता दिइने
आइतबार, साउन ३१, २०८३
