नेभिगेशन

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

नेपाल हेल्थ न्युज, काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य बीमा बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम भुक्तानीमा समस्या आएपछि केही समयदेखि रोकिएको सेवा पुनः सुरु गरिएको हो।

अस्पतालका अनुसार स्वास्थ्य बीमा बोर्डसँगको समन्वयपछि हालका लागि बीमितलाई बहिरङ्ग (ओपीडी) सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। अस्पतालले बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेबापत करिब ८ करोड रुपैयाँ प्राप्त गरेको जनाएको छ।

गत असार १५ गतेदेखि भुक्तानी रोकिएका कारण अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द गरिएको थियो। अहिले ओपीडी सेवा सञ्चालनमा आए पनि अन्य उपचार तथा स्वास्थ्य सेवाहरू भने तत्काल बीमा कार्यक्रमअन्तर्गत उपलब्ध नहुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

बीमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य बीमा परिचयपत्रसहित आवश्यक कागजात पेस गरी अस्पतालले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ। साथै, अस्पताल आउनुअघि बीमितले आफूलाई सहज पर्ने प्रथम सेवा केन्द्रबाट आवश्यक प्रेषण (रिफरल) लिनुपर्ने व्यवस्था गरिएको छ।
       
अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा आइतबार र सार्वजनिक बिदाका दिन सञ्चालन नहुने जनाएको छ।        

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ