नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार जेइ संक्रमितको संख्या ६३ पुगेको हो ।
परिवार कल्याण महाशाखाका अनुसार हालसम्म देशका २२ जिल्लाका ५० स्थानीय तहमा जेइ संक्रमित भेटिएका छन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) का केस देखिएकोमा ६३ जनामा जेइ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पाँच दिनमा मात्रै थप नौ जनामा जेइ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । हाल ३१ जना संक्रमित उपचाररत छन् ।
जेइ संक्रमणबाट मृत्यु भएका सबै १६ जनाले खोप नलगाएको पाइएको छ । मृतकमध्ये नौ महिला र सात पुरुष छन् । मृत्यु भएकामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्यांकले देखाएको छ । उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ संक्रमणको जोखिम बढी देखिएको छ ।
जेइ संक्रमणबाट झापामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
यसअघि मुख्यतः नेपालको पूर्वी क्षेत्रमा देखिँदै आएको जेइ संक्रमण पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ । महाशाखाको जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश संक्रमित धानबारी तथा सुँगुर फार्म आसपास बसोबास गर्नेहरू छन् । संक्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी गम्भीर संक्रामक रोग हो । जेइ भाइरसबाट संक्रमित हाँस, कुखुरालगायतका चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण सर्न सक्छ ।
नेपालमा जेइ संक्रमण विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको छ । विज्ञहरूले जोखिम क्षेत्रका नागरिकलाई लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन तथा उपलब्ध जेइ खोप लगाउन आग्रह गर्दै आएका छन् ।
श्रीलङ्कामा ५५ वर्षीय पुरुषको मुत्रथैलीबाट निकालियो ३.१ किलोको पत्थरी
मंगलबार, भदौ २, २०८३
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
मंगलबार, भदौ २, २०८३
स्वास्थ्य मन्त्रालयले विभिन्न निकायका सदस्य पदका लागि रोष्टरमा आवेदन माग्यो
मंगलबार, भदौ २, २०८३
स्वास्थ्य बीमा सञ्चालन गर्न रञ्जु दर्शनाको सरकारसँग आग्रह
मंगलबार, भदौ २, २०८३
