नेपाल हेल्थ न्युज, काठमाडौं । कलेजो मानव शरीरको महत्वपूर्ण अंगमध्ये एक हो। शरीरमा विभिन्न महत्वपूर्ण काम गर्ने कलेजोमा समस्या आउँदा सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिन सक्छ। तर रोग बढ्दै जाँदा शरीरले विभिन्न संकेत देखाउन थाल्ने कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटा बताउँछन्।
कलेजोमा समस्या हुँदा देखिन सक्ने प्रमुख संकेतहरू यस्ता छन्।
आँखा र छाला पहेँलो हुनु
कलेजोले शरीरमा रहेको बिलिरुबिनलाई उचित रूपमा प्रशोधन गर्न नसक्दा आँखाको सेतो भाग र छाला पहेँलो देखिन सक्छ। यस्तो अवस्थालाई जन्डिस भनिन्छ।
पेट र खुट्टा सुन्निनु
कलेजोको कार्यक्षमता कमजोर हुँदा पेटमा पानी जम्न सक्छ। यसका साथै शरीरको तल्लो भाग तथा खुट्टामा पनि पानी जमेर सुन्निने समस्या देखिन सक्छ।
अत्यधिक थकान र कमजोरी
पर्याप्त आराम गरे पनि निरन्तर थकान महसुस हुनु वा शरीर कमजोर हुँदै जानु पनि कलेजोसम्बन्धी समस्याको संकेत हुन सक्छ।
भोक नलाग्नु र वाकवाकी लाग्नु
कलेजोले उत्पादन गर्ने पित्त तथा पाचन प्रक्रियामा गडबडी हुँदा भोक कम लाग्ने, वाकवाकी हुने वा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्।
सजिलै निलडाम बस्नु वा रगत बग्नु
कलेजोले रगत जमाउन आवश्यक केही प्रोटिन उत्पादन गर्छ। कलेजोको कार्यक्षमता कमजोर हुँदा सामान्य चोटपटकमै पनि निलडाम बस्ने वा रगत बग्ने समस्या हुन सक्छ।
पिसाब र दिसाको रंग परिवर्तन हुनु
कलेजोमा समस्या हुँदा पिसाब सामान्यभन्दा गाढा, चियाजस्तो रंगको हुन सक्छ। त्यस्तै दिसाको रंग माटो वा फुस्रो जस्तो देखिन सक्छ।
कलेजोसम्बन्धी समस्या सुरुवाती चरणमै पहिचान गर्न सके उपचार सहज हुन सक्छ। माथिका लक्षणहरू देखिएमा आफैं निष्कर्ष निकाल्नुभन्दा चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनु उचित हुन्छ।
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३


