नेभिगेशन

श्रीलङ्कामा ५५ वर्षीय पुरुषको मुत्रथैलीबाट निकालियो ३.१ किलोको पत्थरी

नेपाल हेल्थ न्युज, ट्रिन्कोमाली । श्रीलङ्काका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्राशयबाट असामान्य रूपमा ठूलो पत्थरी शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकका अनुसार उक्त पत्थरीको तौल ३.१ किलोग्राम र लम्बाइ करिब १७ सेन्टिमिटर रहेको छ।

पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित अस्पतालमा गत साता गरिएको शल्यक्रियापछि बिरामीको अवस्था अहिले राम्रो रहेको चिकित्सकहरूले बताएका छन्। उनी मस्तिष्काघातपछि उपचारका लागि अस्पताल पुगेका थिए। त्यही क्रममा उनलाई पिसाब फेर्न कठिनाइ भइरहेको भेटिएपछि परीक्षण गर्दा मूत्राशयमा ठूलो पत्थरी रहेको पत्ता लागेको थियो।

शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनका अनुसार उपलब्ध अभिलेखसँग तुलना गर्दा यो शल्यक्रियाबाट निकालिएको सबैभन्दा ठूलो मूत्राशयको पत्थरी हुन सक्ने दाबी गरिएको छ। यसको आकार पूर्ण रूपमा विकसित नवजात शिशुको तौलसँग तुलना गर्न सकिने र अस्ट्रिचको अण्डाजस्तै ठूलो रहेको चिकित्सकहरूले बताएका छन्।

चिकित्सकहरूको अनुमानमा उक्त पत्थरी बिरामीको मूत्राशयमा ५ देखि १० वर्षसम्म विकसित भएको हुन सक्छ। सामान्यतया मूत्राशयमा पिसाब लामो समयसम्म पूर्ण रूपमा खाली हुन नसक्दा त्यसमा रहेका खनिज तथा अन्य पदार्थ क्रमशः जमेर क्रिस्टल बन्ने र पछि पत्थरीको रूप लिने गर्छन्।

साना पत्थरी शरीरबाट आफैँ बाहिर निस्कन सक्ने भए पनि आकार बढ्दै गएपछि यसले पिसाबको बाटोमा अवरोध सिर्जना गर्न सक्छ। विशेषगरी एक सेन्टिमिटरभन्दा ठूला पत्थरीमा उपचार वा शल्यक्रियाको आवश्यकता पर्न सक्छ। चार सेन्टिमिटरभन्दा बढी आकारका पत्थरीलाई सामान्यतया ‘विशाल मूत्राशयको पत्थरी’ मानिन्छ।

यसअघि सन् २००३ मा ब्राजिलका एक बिरामीको मूत्राशयबाट १.९ किलोग्राम तौल र १७.९ सेन्टिमिटर लम्बाइ भएको पत्थरी निकालिएको अभिलेख रहेको बताइन्छ। नयाँ घटनामा निकालिएको पत्थरीको तौल त्यसको तुलनामा करिब १.६ गुणा बढी छ।

अस्पतालमा बिरामीलाई केही समय निगरानीमा राखेर अन्य स्वास्थ्य समस्याको समेत उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्। न्युज एजेन्सी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ