नेपाल हेल्थ न्युज, काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित व्यवस्थापनसम्बन्धी विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो।
स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट सेवाग्राहीलाई वर्षभरि निःशुल्क औषधि उपलब्ध गराउने उद्देश्यले सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले परिपत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न प्रकारका औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत पठाएको छ। सूचीमा औषधिका अतिरिक्त स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समावेश गरिएको छ।
स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको माग, खरिद, भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ। औषधिको अभाव हुन नदिन नियमित आपूर्ति र भण्डारणको अवस्थासमेत सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।
भरतपुर अस्पतालको ल्याब रिपोर्ट अब अनलाइनमै हेर्न सकिने
शनिबार, भदौ ६, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३

