नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीले आफ्नै क्षेत्रमा उपचार पाउन थालेका छन्। प्रतिष्ठानमा हालै टाउकोमा गम्भीर चोट लागेका तथा अनुहार क्षतविक्षत भएका एक युवकको जटिल शल्यक्रिया सफल भएको छ।
रोल्पाबाट वैदेशिक रोजगारीका लागि काठमाडौं जाने क्रममा तिलाको गरगरेमा भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएका रोल्पाको त्रिवेणी गाउँपालिकाका २१ वर्षीय अमरकुमार झाँक्रीको प्रतिष्ठानमा सफल उपचार भएको हो। दुर्घटनामा उनको टाउकोमा रगत जम्नुका साथै अनुहारमा गम्भीर चोट लागेको थियो। अर्धचेत अवस्थामा प्रतिष्ठान ल्याइएका उनको चिकित्सक टोलीले जटिल शल्यक्रिया गरी ज्यान जोगाएको हो।
प्रतिष्ठानका न्युरोसर्जन डा. उपमा शर्मा, मुख तथा अनुहार शल्य चिकित्सक डा. निरोज खनाल, नाक, कान तथा घाँटी विशेषज्ञ डा. सरोज आचार्य र दन्त रोग विशेषज्ञ डा. करिष्मा भण्डारीसहितको टोलीले उपचार गरेको थियो।
उपचारको पहिलो चरणमा करिब ६ घण्टा लगाएर न्युरोसर्जरी गरी टाउकोमा जमेको रगत निकालिएको थियो। त्यसपछि दोस्रो चरणमा करिब ९ घण्टा लामो शल्यक्रियामार्फत ‘सर्भिकोफेसियल फ्ल्याप’ प्रविधि प्रयोग गरी क्षतिग्रस्त अनुहारको पुनर्निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ।
करिब १५ घण्टा लामो दुई चरणको जटिल शल्यक्रियापछि झाँक्रीको ज्यान जोगिनुका साथै दुर्घटनाका कारण बिग्रिएको अनुहारको स्वरूपसमेत सामान्य अवस्थामा फर्काउन चिकित्सक सफल भएका छन्।
यसअघि टाउकोमा गम्भीर चोट लागेका तथा न्युरोसर्जरी आवश्यक पर्ने बिरामीलाई काठमाडौं वा अन्य ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो। प्रतिष्ठानमै न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा उपलब्ध भएपछि राप्ती क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
आफ्नै क्षेत्रमा जटिल शल्यक्रिया सेवा पाएर ज्यान जोगिएपछि अमरकुमार झाँक्रीले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि गम्भीर चोटपटकका बिरामीका लागि प्रतिष्ठान महत्वपूर्ण उपचार केन्द्रका रूपमा विकास हुँदै गएको देखिएको छ।
भरतपुर अस्पतालको ल्याब रिपोर्ट अब अनलाइनमै हेर्न सकिने
शनिबार, भदौ ६, २०८३
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
शनिबार, भदौ ६, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३

