नेभिगेशन

भरतपुर अस्पतालको ल्याब रिपोर्ट अब अनलाइनमै हेर्न सकिने

नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् हेर्न र प्रिन्ट गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। अस्पतालको वेबसाइटमार्फत् बिरामीले घरबाटै आफ्नो ल्याब रिपोर्ट हेर्न सक्ने व्यवस्था गरिएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने व्यवस्था छ। उपचार शुल्क तिर्दा प्राप्त हुने बिलमै सम्बन्धित बिरामीको युजरनेम र पासवर्ड उल्लेख गरिएको हुन्छ।

बिलमा प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशाला परीक्षणको नतिजा अनलाइनबाटै हेर्न तथा आवश्यक परे प्रिन्ट गर्न सक्ने डा. बगालेले जानकारी दिए।

त्यसैगरी अस्पतालमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट बहिरङ्ग (ओपीडी) टिकटसँगै प्रयोगशाला रिपोर्टसमेत लिन सकिने व्यवस्था गरिएको छ। यसले बिरामीलाई रिपोर्ट तथा टिकट लिन काउन्टरमा लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता हटाउने अस्पतालको विश्वास छ।

भरतपुर अस्पतालमा दैनिक करिब ३ हजार ८ सय बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन्। अस्पतालले सेवा सुविधामा सुधार गर्दै गएसँगै बिरामीको चापसमेत बढ्दै गएको डा. बगालेले बताए।

६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल स्वास्थ्य बीमामार्फत् सेवा प्रदान गर्ने प्रमुख स्वास्थ्य संस्थामध्ये एकका रूपमा समेत रहेको छ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमामार्फत् उपचार सेवा बन्द गरेपछि बीमा सुविधामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या क्रमशः बढ्दै गएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट