नेपाल हेल्थ न्युज, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। पछिल्लो एक सातायता संक्रमण तीव्र रूपमा फैलिँदा एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा किटमार्फत स्क्रबटाइफस संक्रमण पुष्टि भएको थियो।
खड्कालाई मधुमेहको समस्या समेत रहेको र फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि दाङ हुँदै नेपालगन्ज रिफर गरिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उहाँको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।
संक्रमण बढ्दै गएपछि शनिबार पनि एक जना बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो। विशेषगरी दार्मा गाउँपालिका–३ मा ज्वरो आएका बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य शाखाका अनुसार पछिल्लो समय दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस संक्रमण पुष्टि भइरहेको छ। अन्य वडामा समेत व्यापक रूपमा परीक्षण गरिए संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्य शाखाको अनुमान छ।
“एक सातादेखि समस्या देखिएको छ। ज्वरोका बिरामी पनि बढिरहेका छन्। परीक्षण गर्दा दैनिक चार–पाँच जनामा स्क्रबटाइफस पुष्टि भइरहेको छ,” स्वास्थ्य शाखा प्रमुख बस्नेतले भन्नुभयो।
संक्रमणको अवस्था जटिल बन्दै गएपछि नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
दार्मा गाउँपालिकामा गत वर्ष पनि स्क्रबटाइफसको संक्रमण व्यापक रूपमा फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।
चिकित्सकका अनुसार स्क्रबटाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो। ओरिएन्सिया सुसुगामुसी नामक जीवाणुका कारण हुने यो संक्रमण प्रायः झाडी, खेतबारी, वनजंगल तथा घर वरपरका घाँस र झाडी भएका स्थानमा पाइने माइटबाट सर्ने गर्दछ।
स्क्रबटाइफसबाट बच्न खेतबारी, वनजंगल वा झाडीमा जाँदा शरीर ढाकिने कपडा लगाउन तथा सम्भव भएसम्म बुट प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। घर वरपरका झाडी तथा घाँस नियमित रूपमा सफा राख्न, चउर तथा झाडी भएका स्थानमा अनावश्यक रूपमा नबस्न र भुइँमा सुत्नबाट जोगिन पनि आग्रह गरिएको छ।
ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित
आइतबार, भदौ ७, २०८३

