नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
एमबीबीएस/बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलनका संयोजक एवं अनशनरत चिकित्सक डिल्ली हरिजनले विज्ञप्ति जारी गर्दै पूर्वसहमतिअनुसार तत्काल चिकित्सा शिक्षा आयोगको ‘फुल हाउस’ बैठक बोलाएर निर्णय कार्यान्वयन गर्न माग गरेका छन्।
गत साउन २२ गते सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच सहमति भएपछि इन्टर्न चिकित्सकहरूले अनशन अन्त्य गरेका थिए। तर सहमति भएको १६ दिन बितिसक्दा पनि निर्णय कार्यान्वयन प्रक्रियामा ढिलाइ भइरहेको भन्दै संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
आन्दोलनरत चिकित्सकहरूले अस्पतालमा तोकिएको कार्यसमय, रात्रिकालीन सेवा तथा अतिरिक्त कार्यबोझलाई ध्यानमा राख्दै एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउने कार्यदलको सिफारिस कार्यान्वयन गर्न माग गरेका छन्।
त्यस्तै, श्रम ऐन, २०७४ को दफा २८ बमोजिम सरकारी तथा निजी चिकित्सा शिक्षण संस्थामा आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टा समान रूपमा लागू गर्नुपर्ने उनीहरूको माग छ।
सरकारी तथा निजी मेडिकल कलेजले स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने मागसमेत चिकित्सकहरूले अघि सारेका छन्। उनीहरूले २०७९ वैशाख २१ गते जारी गरिएको परिपत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
विद्यार्थीका लागि छात्रावाससम्बन्धी ऐच्छिक व्यवस्था सरकारी तथा निजी दुवै क्षेत्रका मेडिकल कलेजमा समान रूपमा लागू गर्नुपर्ने माग पनि उनीहरूको छ।
यसअघि पदाधिकारी अभावलाई कारण देखाउँदै निर्णय प्रक्रिया लम्ब्याइएको भए पनि अहिले सम्बन्धित सबै निकायमा पदाधिकारी पूर्ण भइसकेकाले थप ढिलाइ नगर्न चिकित्सकहरूले चेतावनी दिएका छन्।
सरकार, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगले आफ्ना माग तत्काल सम्बोधन नगरे जुनसुकै बेला पुनः आमरण अनशन सुरु गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।

चिकित्सकमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघद्वारा दोषीलाई कारबाही गर्न माग
सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
सोमबार, भदौ ८, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, भदौ ८, २०८३
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
सोमबार, भदौ ८, २०८३
