नेभिगेशन

१० जिल्लामा डेंगी संक्रमण फैलिँदा दुई जनाको मृत्यु

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा डेंगी संक्रमण फेरि बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष भदौको पहिलो सातासम्म देशभर ९ सय १६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

महाशाखाका अनुसार हालसम्म १० जिल्लामा डेंगी संक्रमण फैलिएको छ। सबैभन्दा बढी संक्रमित बागलुङमा भेटिएका छन्। बागलुङमा मात्रै ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण सदरमुकाम क्षेत्रमा बढी फैलिएको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार झापामा २ सय ८, सुनसरीमा २ सय ५, कास्कीमा १ सय ७८, पाल्पामा १ सय २६, काठमाडौंमा १ सय १५, गोरखामा १ सय ३, तनहुँमा ९८, रुपन्देहीमा ७८ र ओखलढुंगामा ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

डा. दाहालले डेंगी संक्रमणको जोखिम अझै एकदेखि दुई महिनासम्म रहने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । वर्षा भइरहेकाले घर तथा वरपर जम्मा भएको सफा पानीमा डेंगी सार्ने लामखुट्टेले प्रजनन गर्ने जोखिम रहेको उहाँको भनाइ छ।

उहाँले लामखुट्टेको वृद्धिचक्रलाई समयमै नियन्त्रण गर्न सके डेंगीको जोखिम कम गर्न सकिने बताउनुभयो। घरवरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने तथा लामखुट्टे नष्ट गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

नेपालमा पछिल्ला वर्षको तुलनामा डेंगी संक्रमणदर भने घटेको तथ्यांकले देखाएको छ। सन् २०२४ को अगस्टसम्म १२ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो। गत वर्षको अगस्टसम्म १ हजार १ सय ९७ जना संक्रमित भएका थिए भने यस वर्ष सोही अवधिमा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।

स्थानीय तह तथा नागरिकस्तरमा बढेको जनचेतना र लामखुट्टे नियन्त्रण अभियान तीव्र पारिएकाले संक्रमणदरमा कमी आएको डा. दाहालको दाबी छ।

कीटविज्ञ शिशिर पन्तका अनुसार अहिले डेंगी फैलाउने लामखुट्टेको वृद्धिका लागि मौसम अनुकूल छ। वर्षाको पानी भाँडा, पोखरीलगायत विभिन्न स्थानमा जम्मा हुँदा लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण बन्ने उहाँले बताउनुभयो।

उहाँका अनुसार असोजसम्म वर्षा हुने भएकाले त्यतिबेलासम्म डेंगी संक्रमण फैलिने जोखिम उच्च रहनेछ। संक्रमित लामखुट्टेको संख्या बढेसँगै डेंगीको जोखिम पनि बढ्ने भएकाले पानी जम्न नदिने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट