नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रमा मेडिकल टिम, अतिरिक्त एम्बुलेन्स तथा स्वास्थ्य जनशक्ति परिचालन गर्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेनले बताउनुभएको छ।
प्रधानमन्त्रीका अनुसार विपद् व्यवस्थापन प्राधिकरण सक्रिय भइसकेको छ। मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य तथा मानवीय सहायता पुर्याउने काम भइरहेको छ।
बाढीका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने तथा घाइते र बिरामीलाई तत्काल उपचार आवश्यक पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप एम्बुलेन्स र मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ।
यस्तै, तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्रीले बताउनुभएको छ। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा रहन जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन भइसकेको जनाइएको छ।
बाढीपछि आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्रीले बताउनुभएको छ। उहाँले प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचना कुरेर बस्न आग्रह गरेका छन्।
उद्धार, स्वास्थ्य सेवा तथा राहतसम्बन्धी थप जानकारीका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
रसुवामा बाढीपछि स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पतालहरू तयारी अवस्थामा
बुधबार, भदौ १०, २०८३
१० जिल्लामा डेंगी संक्रमण फैलिँदा दुई जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
बुधबार, भदौ १०, २०८३

