नेभिगेशन

रसुवा बाढीका पीडितलाई स्वास्थ्य तथा राहत सामग्री पठाउँदै डब्ल्यूएचओ

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्यूएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण उपलब्ध गराउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपत्कालीन टेन्टसमेत पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ। मन्त्रालयका अनुसार हालसम्म तीन जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइसकिएको छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स तथा नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा आवश्यक सामग्रीको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच निरन्तर समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट