नेभिगेशन

बाढीका घाइतेलाई बागमतीका सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकका लागि प्रदेशअन्तर्गतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ।

प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते तथा बिरामीलाई नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गरी निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको हो।

विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले बाढी प्रभावित तथा घाइते नागरिकलाई सहज र शीघ्र उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ढिलाइ नगरी नजिकको प्रादेशिक अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, मन्त्रालयले बाढीका कारण प्रभावित तथा घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट