नेपाल हेल्थ न्युज, काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक तयारी थालेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उपचारका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
बाढीका कारण सम्पर्कविहीन भएका स्वास्थ्यकर्मीको अवस्थाबारे जानकारी लिने तथा प्रभावित स्वास्थ्य संस्थाबाट नियमित सेवा दिन नसकिने अवस्थामा वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।
मन्त्रालयले अहिलेको अवस्थामा बाढीका कारण घाइते भएका व्यक्तिको खोजी, उद्धार र उपचारलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। सामान्य उपचार स्थानीय स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउने र थप विशेषज्ञ उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौंका अस्पतालमा ल्याउने गरी समन्वय भइरहेको डा. अधिकारीले बताउनुभयो।
उहाँका अनुसार पछिल्ला दुई दिनमा घाइते तथा चोटपटक लागेका व्यक्तिको उपचारमा विशेष ध्यान दिइएको छ। काठमाडौंका विभिन्न अस्पतालमा समेत बाढी प्रभावित घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीपछि पानी तथा खाद्यजन्य रोग, किटजन्य रोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ। सम्भावित स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि तथा उपचार सामग्रीको पूर्वव्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।
बाढीमा घर, सम्पत्ति, पशुचौपाया वा आफन्त गुमाएका व्यक्तिमा मानसिक तनाव तथा अन्य मनोसामाजिक समस्या देखिन सक्ने भन्दै मन्त्रालयले आवश्यक परे मानसिक स्वास्थ्य परामर्शका लागि ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ।
त्यस्तै, बालबालिकासम्बन्धी सहयोगका लागि १०९८ तथा स्वास्थ्यसम्बन्धी समस्या र जानकारीका लागि ११५१ र ११५५ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
डा. अधिकारीले विपद्को समयमा स्थानीय समुदायबीचको सहयोगलाई समेत महत्वपूर्ण उद्धारका रूपमा लिनुपर्ने बताउनुभएको छ। उहाँले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई नआत्तिन आग्रह गर्दै छिमेकी तथा समुदायका सदस्यले एकअर्कालाई तत्काल सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
शिक्षण अस्पतालले सार्वजनिक गर्यो बाढीपहिरोमा घाइते ३१ जनाको नामावली, एक जनाको मृत्यु
बिहीबार, भदौ ११, २०८३
बाढीका घाइतेलाई बागमतीका सबै सरकारी अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ ११, २०८३
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
