नेभिगेशन

भोटेकोशी बाढीपीडितको राहतका लागि स्वास्थ्य व्यवसायी परिषद्ले गर्‍यो ११ लाख सहयोग

नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रु. ११ लाख ११ हजार १ सय ११ उपलब्ध गराउने निर्णय गरेको छ।

परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने जनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति परिषद्ले दुःखसमेत व्यक्त गरेको छ।

विपद्का समयमा राहत तथा सहयोगलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउन एकद्वार प्रणाली प्रभावकारी हुने भएकाले सोही माध्यमबाट सहयोग उपलब्ध गराउने निर्णय गरिएको परिषद्को भनाइ छ।

परिषद्का अध्यक्ष सगुन पौडेलले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो।

बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले उद्धार, राहत र पुनर्स्थापनाका अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट