नेभिगेशन

रसुवा बाढी : १३५ जना उपचारपछि घर फर्किए, ७५ जना उपचाररत

नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावितमध्ये ७५ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढीपछि हालसम्म २४२ जना बिरामी तथा घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ। तीमध्ये १३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार बाढीका कारण हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक जनालाई अस्पताल पुर्‍याउँदा नै चिकित्सकले मृत घोषणा गरेका थिए।

काठमाडौं उपत्यकाबाहिरका तीन स्वास्थ्य संस्थामध्ये रसुवा जिल्ला अस्पताल, धुन्चेमा सबैभन्दा बढी ७६ जना बिरामी भर्ना भएका थिए। तीमध्ये २७ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

त्यस्तै, नुवाकोटस्थित त्रिशूली अस्पतालमा भर्ना भएका १८ जनामध्ये १४ जना उपचारपछि घर फर्किएका छन्। आयुर्वेद अस्पताल, पिपलटारमा भर्ना भएका १६ जनामध्ये १४ जना अझै उपचाररत छन्।

उपत्यकाबाहिरका स्वास्थ्य संस्थाबाट थप उपचार आवश्यक भएका २९ जना घाइतेलाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, काठमाडौं उपत्यकाका १३ प्रमुख अस्पतालमा पनि रसुवा बाढीबाट प्रभावित घाइते तथा बिरामीको उपचार भइरहेको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ५४ जना र ट्रमा सेन्टरमा ४३ जना बिरामी भर्ना भएका छन्।

त्यस्तै, वीर अस्पतालमा १५ जना, नेपाल एपीएफ अस्पताल बलम्बुमा ६ जना तथा नर्भिक, ग्रान्डी, ह्याम्स, ग्रिनसिटी, शुभम इन्टरनेसनल हस्पिटल मनमैजु, मनमोहन, परोपकार प्रसूति गृह, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्र अस्पतालमा समेत बाढी प्रभावितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट