नेभिगेशन

भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन

नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार १२७ वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान ८ बजेसम्म फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। बाँकी शवको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, खोज तथा उद्धारका क्रममा ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेका छन्। प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। त्यसमध्ये ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। हालसम्म ९११ वटा शवको पहिचान खुल्न सकेको छैन।

बाढीमा परी बेपत्ता हुनेको संख्या पनि ठूलो रहेको प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।

यसैगरी, थप १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।

nepal-police-report-1788325480.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ